Home उत्पत्ति 42 · नेपाली बाइबल

उत्पत्ति

Chapter 42

नेपाली बाइबल
1कनानमा पनि खराब प्रकारले नै अनिकाल लाग्यो। तर याकूबले मिश्र देशमा अन्न छ भनी थाहा पाए। यसर्थ याकूबले आफ्नो छोराहरूलाई भने, “हामी यहाँ किन केही यसरी बसिरहेका छौं।
2बेच्नको निम्ति मिश्र देशमा अन्न राखिएको छ भनी मैले सुनेको छु। यसर्थ अन्न किन्नको निम्ति हामी त्यहाँ जाऊँ जसले गर्दा हामी आफैंलाई अनिकालबाट बचाउनेछौ।”
3यसर्थ मिश्रमा अन्न किन्न यूसुफका दाजुहरू मध्ये दश जना गए।
4याकूबले बिन्यामीनलाई पठाएनन्। (यूसुफका भाइहरूमा बिन्यामीन मात्र आफ्नै भाइ हो।) बिन्यामीनलाई केही नराम्रो होला भनेर याकूब डराए।
5कनानमा अनिकाल औधी नै लगेको थियो, मिश्र देशमा अन्न किन्न जानेहरूमा कनानबाट धेरै मानिसहरू थिए। तिनीहरू मध्ये इस्राएलका छोराहरू पनि थिए।
6त्यस समयमा मिश्र देशका प्रशासक यूसुफ थिए। त्यहाँ यूसुफ मात्र एकजना मानिस थिए, जसले मिश्र देशमा मानिसहरूलाई अन्न बेच-बिखन गरिएको निरीक्षण गर्थे। यसर्थ तिनका दाज्यू-भाइहरू तिनीकहाँ आए अनि शिर निहुर्याएर नमस्कार गरे।
7यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई देखे अनि चिने। तर तिनले आफ्नो दाज्यू-भाइहरूलाई नचिने झैं गरे। तिनले तिनीहरूसित निष्ठूरतापूर्ण शब्दहरूमा कुरा गरे। तिनले भने, “तिमीहरू कहाँबाट आएका हौ?”ती दाज्यू-भाइहरूले उत्तर दिए, “हामी कनान देशबाट आएका हौं। यहाँ हामी अन्न किन्न् आएका हौं।”
8यूसुफले चिने तिनीहरू तिनका दाज्यू-भाइहरू हुन् तर तिनी को हुन् तिनीहरूले चिनेनन्।
9यूसुफले आफ्नो दाज्यू-भाइहरूको विषयमा देखेको सपना सम्झे।यूसुफले आफ्नो दाज्यू-भाइहरूलाई भने, “तिमीहरू जासूसहरू हौ, अन्न किन्न आएकाहरू होइनौ। हामी कहाँ दुर्बल छौं त्यो जान्न आएका हौ।”
10तिनीहरूले उत्तर दिए, “हे महाशय तपाईंका सेवकहरू यहाँ खाद्यान्न किन्न मात्र आएका छन्।
11हामीहरू सबै दाज्यू-भाइहरू हौं, हामी सबैका बाबु एउटै हुन्। हामी ईमानदार मानिसहरू हौं। हामी खाली अन्न किन्न आएका छौं।”
12तब यूसुफले तिनीहरूलाई भने, “होइन। हामी कहाँ दुर्बल छौं त्यो जान्न तिमीहरू आएका हौ।”
13अनि तिनीहरूले उत्तर दिए, “होइन, हामी सबै दाज्यू-भाइहरू हौं। हाम्रो परिवारमा हामी बारह्रजना दाज्यू-भाइहरू छौं। हामीहरू सबैको एकजना बुबा हुनुहुन्छ। हाम्रो कान्छो भाइ घरमा बुबासित छ। एकजना भाइ धेरैअघि मर्यो। हामी, तपाईंका दासहरू, कनानको भूमिबाट आएका हौं।”
14तर यूसुफले भने, “होइन। म बुझ्नसक्छु म भूलमा छैन। तिमीहरू जासूसहरू हौ।
15तर म तिमीहरूलाई आफू सत्य भएको प्रमाण गर्ने मौका दिन्छु। म राजा फिरऊनको नाउँमा शपथ खान्छु जबसम्म तिमीहरूको कान्छो भाइ यहाँ आउँदैन त्यतिञ्जेलसम्म तिमीहरूलाई जान दिने छैन।
16तिमीहरू मध्ये एक कान्छो भाइलाई यहाँ म भएकोमा ल्याउन जान दिन्छु अनि अरू दाज्यू-भाइहरूलाई झ्यालखानमा राख्नेछु। तिमीहरूले साँचो कुरो गरेको हो होइन हामी हेर्नेछौं तर म विश्वास गर्छु तिमीहरू जासूसहरू हौ।”
17त्यसपछि यूसुफले तिनीहरूलाई तीन दिनसम्म झ्यालखानमा राखे।शिमोनलाई बन्धक झैं राख्यो
18तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु।
19यदि तिमीहरू साँच्चै नै इमानदार मानिसहरू हौ भने, तिमीहरू मध्ये एक भाइ यही झ्यालखानमा रहन सक्छ। अनि अन्य भाइहरू तिमीहरूका मानिसहरूको निम्ति अन्न लिएर फर्किन सक्छन्।
20तर तिमीहरूको कान्छो भाइ लिएर तिमीहरू फर्की आउनै पर्छ। तब मात्र म थाहा पाउने छु तिमीहरूले साँचो बोलिरहेका छौ अनि तिमीहरूले मर्नु पर्ने छैन।”दाज्यू-भाइहरू यसमा सहमत भए।
21“तिनीहरूले एकार्कामा कुरा गरे, “हामीले हाम्रो भाइ यूसुफलाई नराम्रो कुरा गरेकोले दण्ड भोगिरहेका छौं। उनले भोगेको कष्ट हामीले देख्यौं, उनले आफ्नो बचाऊको निम्ति हामीसित प्रार्थना गर्यो तर हामीले उसको प्रार्थना अस्वीकार गर्यौ। यसर्थ अहिले हामीहरूले कष्ट भोगिरहेका छौं।”
22त्यसपछि रूबेनले तिनीहरूलाई भने, “मैले त्यस केटोलाई नराम्रो केही नगर्नु भनी तिमीहरूलाई भनेको थिएँ। तर तिमीहरूले मेरो सल्लाह मानेनौ। यसर्थ अहिले उसको मृत्युको सट्टामा हामी दण्ड भोगिरहेका छौं।”
23आफ्ना दाज्यू-भाइहरूसित कुरा गर्नको निम्ति यूसुफले एकजना अनुवादक राखेका थिए। यसर्थ उनका भाइहरूले तिनीहरूको भाषा बुझे भनी जान्न सकेनन्। तर तिनीहरूले के के कुरा गरे तिनले सुने र बुझे।
24तिनीहरूको कुराले यूसुफ अत्यन्तै दुःखी भए। यसर्थ उनी तिनीहरूबाट अलग भए अनि रोए। केही क्षणपछि यूसुफ तिनीहरू समक्ष गए। उनले शिमोनलाई समाते अनि बाँधे तर अरू दाज्यू भाइहरूले हेरिरहे।
25यूसुफले केही नोकरहरूलाई तिनीहरूका बोरामा अन्न भर्न लगाए। ती दाज्यू-भाइहरूले यूसुफलाई अन्नको दाम दिए। तर यूसुफले तिनीहरूले तिरेको अन्नको पैसा तिनीहरूकै अन्नको बोरामा हालिदिए। त्यसपछि यूसुफले तिनीहरूलाई घर फर्कदा बाटोमा आवश्यक पर्ने चीजहरू दिए।
26यसर्थ ती दाज्यू-भाइहरू अन्नको बोरा गधामा लादेर त्यहाँबाट हिंडे।
27त्यस रात तिनीहरू एक ठाउँमा बास बसे। तिनीहरू मध्ये एकजनाले गधालाई खुवाउँनु आफ्नो थैलो खोल्यो। अनि त्यस थैलोमा उनले तिरेको पैसा पायो।
28उनले आफ्नो दाज्यू-भाइहरूलाई भने, “हेर, मैले अन्नको निम्ति दिएको पैसा यहाँ छ। कसैले मेरो थैलोमा पैसा राखेको हुन सक्छ।” त्यस समय ती दाज्यू-भाइहरूको साहस हरायो अनि डराए। तिनीहरू एक-अर्कातिर फर्किए अनि भने, “परमेश्वर हामीमाथि के गर्नु हुँदैछ?”
29कनानका ती दाज्यू-भाइहरू आफ्ना बाबु याकूबकहाँ पुगे। तिनीहरूले याकूबलाई के भएको थियो प्रत्येक कुरो बताए।
30तिनीहरूले भने, “त्यस देशका शासकले हामीसित निष्ठुर शब्दमा कुरा गरे। तिनले हामी जासूस हौ पनि भने।
31तर तिनलाई हामीले भन्यौं हामी जासूस होइनौं, हामी इमानदार मानिसहरू हौं।
32हामीले तिनलाई भन्यौं हामीहरू बाह्र भाइ छौं। हामीले आफ्नो बुबाको विषयमा भन्यौं र यो पनि भन्यौं हाम्रो सब भन्दा कान्छो भाइ कनान देशमा नै छ।
33“तब ती प्रशासकले हामीलाई भने, ‘तिमीहरू इमानदार मानिसहरू हौ भनी प्रमाण गर्ने एउटा उपाय छ। तिमीहरू मध्ये एकजनालाई मसित छोड अनि अरू भाइहरू आफ्ना मानिसहरूको निम्ति अन्न लिएर फर्क।
34त्यसपछि तिमीहरूको कान्छो भाइ लिएर मकहाँ आऊ, तब म बुझ्‌ने छु तिमीहरू साँच्चै इमानदार मानिसहरू हौ अथवा हामीलाई नष्ट पार्ने सेनाको पक्षका तिमीहरू एउटा सेनाद्वारा हामीहरूलाई नष्ट पार्नु पठाएका हौ। यदि तिमीहरूले साँचो भनेका रहेछौ र इमानदार ठहरियौ भने आफ्नो भाइ फिर्ता पाउनेछौ। म उसलाई दिनेछु र तिमीहरू पनि हाम्रो देशमा अन्न किन्न स्वतन्त्र हुनेछौ।”‘
35त्यसपछि ती दाज्यू-भाइहरूले आ-आफ्नो बोराहरूबाट अन्न बाहिर निकाल्न शुरू गरे अनि प्रत्येकले आफ्नो पैसाको थैलो आफ्नो अन्नको बोरामा पाए। ती दाज्यू-भाइहरू र तिनीहरूका बाबुले पैसा देखे र खुबै डराए।
36याकूबले तिनीहरूलाई भने, “के तिमी मैले मेरा सबै नानीहरू गुमाएको चाहन्छौ? यूसुफ गए, शिमोन पनि गए अनि अहिले तिमी मबाट बिन्यामीनलाई पनि छुट्‌याउन चाहन्छौ।”
37तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।”
38तर याकूबले भने, “म बिन्यामीनलाई तिमीहरूसित जान दिंदिन। उसको दाज्यू मर्यो अनि मेरी पत्नी राहेलबाट जन्मेको छोरो यो मात्र छ। मिश्र देश जाँदा यसलाई बाटोमा केही भए त्यस घटनाले मेरो मृत्युलाई निम्त्याउने छ। एक अति शोकाकुल बूढो मानिसलाई तिमीहरूले चिहानमा गाड्नेछौं।”
Bible Study with Steffi App

Memorize verses with spaced repetition. Free, no ads, 15+ languages.

Download Free ↗

Choose Theme